माफ गर्नुहोला आर्किटेक्ट महोदयहरु!!!

- नीलकमल चापागाईं,
२७ सेप्टेम्बर २०२५

Louis I Kahn designed building in Kathmandu
अमेरिकन आर्किटेक्ट लुई कानको डिजाइन तर अधुरो निर्माण - साविकको स्वास्थ्य मन्त्रालय रहेको भवन। सबैभन्दा माथिको सिसाको झ्याल र जस्तापाताको छाना चाहिं पछि नेपाल सरकारले थपेको हो। तस्विर: नीलकमल चापागाईं, २०५४/५५ तिर खिचिएको

भौतिक संरचना र सम्पदाका कुराहरु गरिरहँदा मैले विभिन्न तत्व र महत्वका आधारमा संरक्षण र पुनर्निर्माणको कामको खाका बनाइनु पर्ने धारणा अघिल्ला ब्लगहरुमा राखें। ती प्रसङ्गमा आउने एउटा पक्ष ती संरचनाका डिजाइनर आर्किटेक्ट र इन्जिनियरका कुरा हुन्, विशेषत उनीहरुका डिजाइन के कस्ता थिए, अन्तत ती संरचना कस्ता बने र कसरी प्रयोग भए इत्यादि। त्यसैले आज म तीन हस्तीहरुको सम्झना गर्न चाहन्छु। सिंहदरबारका रचनाकार इन्जिनियर किशोर नर्सिङ्ग राणा र कुमार नर्सिङ्ग राणा अनि साविकको स्वास्थ्य मन्त्रालय रहेको भवनको आर्किटेक्ट लुई कान ।

किशोर नर्सिङ्ग राणा र कुमार नर्सिङ्ग राणाले उतिबेला बेलायतमा गएर इञ्जिनियरिङ्ग अध्ययन गर्न पाए । युरोपेली वास्तुकलाबाट प्रभावित एवं दिक्षित पनि भएकाले उनीहरुले राणा प्रधानमन्त्रीहरु र उनीहरुका भाइभतिजाका निम्ति युरोपेली दरबारका प्रत्यक्ष प्रभाव झल्किने खालका धेरै दरबारहरु काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा खडा गराउने जिम्मेवारी पाए। २०३० सालमा शंकास्पद आगलागीबाट क्षतविक्षत सिंहदरबार दशकौं लगाएर आंशिक हिसाबले पुनर्निर्माण हुन पुग्यो। २०७२ सालको भूइंचालोले समस्याग्रस्त सिंहदरबारको जिर्णोद्धार सम्पन्न भएको पनि धेरै भएको थिएन, हामीले यसको अस्तित्वमा फेरी एकपटक प्रश्न चिन्ह खडा गरिदिएका छौं। बन्नलाई जे सुकै प्रयोजनको लागि बनेको भएपनि सिंहदरबारको परिचय नेपाल सरकारको प्रमुख प्रशाशकिय भवनको रुपमा स्थापित छ। सम्पूर्ण नेपालमै अभुतपुर्व क्षेत्रफल, बगैंचा र कम्पाउण्ड अनि वास्तुकलाको विशेषता बोकेको यो धरोहरको लागि हामीले यसका रचनाकार दाजुभाई किशोर र कुमार नर्सिङ्ग राणालाई सम्झिनु पर्छ नै। उनीहरुलाई सम्झंदै आज म खाली उनीहरुसंग ती अभुतपुर्व संरचना दुरुस्त बचाइराख्न नसकेकोमा क्षमा प्रार्थी छु। तर शायद क्षमादानको राम्रो विकल्प भनेको उनीहरुको रचनाको उचित सम्मान गर्दै तिनलाई फेरी पुनरुत्थान गरि खडा गर्न सक्नु नै हो । खैर, सिंहदरबारको बारेमा धेरैले लेखिसकेकाले आज मलाइ अर्को एउटा भवनको बारेमा चर्चा गर्न मन लागेको छ।

सिंहदरबारनजिकै पुरातत्व विभाग अगाडि रहेको साविकको स्वास्थ्य मन्त्रालय रहेको भवन पनि आगजनीको शिकार हुन पुग्यो। आर्किटेक्ट डिल्लीराम सापकोटा स्वयंसेवकको रुपमा निरिक्षण गरेर फर्केपछि उहाँसंग त्यो भवनको नाजुक स्थितिको बारेमा कुराकानी भएपछि केहि सम्झनाहरु अनि केहि आवश्यक जानकारी आर्किटेक्ट समुदाय र तपाईंहरु सबै संग बाँड्नु मनासिब होला भन्ठानेर केहि लेख्दै छु। आधुनिक वास्तुकलाका केहि मुर्धन्य आर्किटेक्टहरु मध्येमा गनिने लुई कानले सन् १९६० र ७० को दशकमा दक्षिण एसियामा आफ्नो कला देखाउने मौका पाए। शायद उनी दक्षिण एसिया - इंडिया र त्यतिबेलाको पूर्वी पाकिस्तानमा दुइ महत्वपुर्ण रचनामा अनुबन्धित भैसकेकाले होला, राजा महेन्द्रको शासनकालमा नेपालले पनि उनलाई निम्त्यायो - परिवार नियोजन कार्यालयको मुख्य प्रशाशकिय भवन वा परिसर डिजाइन गर्नको निम्ति। उतिबेला अमेरिकी सहयोग नियोगको सहयोगमा नेपालमा परिवार नियोजनका कार्यक्रमहरु शुरु गरिएका थिए, र शायद अमेरिकी सहयोग नियोगको पहलले पनि होला, एक अमेरिकी आर्किटेक्टलाइ यो परियोजना दिइयो। त्यसै अनुसार लुई कानले पनि सिंहदरबार, माइतीघर र भद्रकाली सम्मको खुला ठाउँमा एउटा ठुलै गुरुयोजना बनाएर परिवार नियोजन कार्यालयको भवन डिजाइन गरे। यससम्बन्धी अनुसन्धान गर्दा फेलापरेका कागजपत्रहरुको आधारमा मैले के बुझें भने लुई कान उतिबेला सरकारी र सामुदायिक संरचनाहरुले लोकतान्त्रिक भावना (democratic ideals)लाई कसरी आत्मसात गर्न सक्लान् भन्ने देखाउन लागिपरेका थिए। त्यही अनुसार उनको गुरुयोजनामा परिवार नियोजनको केन्द्रिय कार्यालय मात्र नभएर अरु कार्यालयहरु र जनतालाई सेवा दिने र सभासम्मेलनस्थल (auditorium) इत्यादिहरु समेटेर सिंहदरबार अगाडिको त्यतिबेलाको खुलाठाउँ (सिंहदरबार, माइतीघर र भद्रकाली समेटिने तिनकुने आकारको खाली जग्गा - उतिबेला)लाई लोकतान्त्रिक थलोको रुपमा परिकल्पना गरेका थिए रे। तर दुर्भाग्यवश उनको काम लाइ इंडिया र पूर्वी पाकिस्तान (जुन पछि बंगलादेश भयो)मा निकै महत्व दिएर हेरियो भने नेपालमा उनी ओझेलमा परे। फलस्वरूप इंडियाको अहमदाबाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट को क्याम्पस र बंगलादेशको ढाकामा स्थिति संसद भवन क्याम्पस पूर्ण योजनाले मुर्त रुप लिन पायो, र दुवै संरचना संसार प्रसिद्ध नै हुन पुगे भने नेपालमा भैरहेको आयोजना चाहिं अधुरो मात्रै रहेन, त्यसको खासै चर्चा पनि कतै भएन।

सन् १९९७ तिर हामी २४ जना विद्यार्थीहरु नेपालमा Bachelor इन Architecture पढ्ने देशकै पहिले समुहले यो भवनको बारेमा थाहा पाएपछि निकै उत्साहित भएका थियौं। त्यतिबेला सरकारले त्यो भवनमा तल थप्ने कामको लागि ठेकेदार आव्हान गरेको सुनेपछि हामी विद्यार्थीहरुको छाता समूह ‘एसोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर’ को तर्फबाट एउटा सानो जुलुश सहित स्वास्थ्य मन्त्रालय पुगेर तत्कालिन मन्त्री वामदेव गौतमलाई भेटि एक ज्ञापन पत्र दिएका थियौं। तर खासै सुनुवाई नहुने छाँट भएपछी सोसाइटी अफ नेपाली आर्किटेक्ट्सको तर्फबाट तत्कालिन सभापति भरत शर्मा सरले सर्वोच्च अदालतमा मुद्दा हाली वहाँ आफैंले बहस पनि गर्नु भएको थियो। सम्मानित अदालतले सरकारको नाममा स्टे अर्डरपनि दिएको थियो , तर सर्वोच्च अदालतकै अगाडि सरकारले आफ्नो मनखुशी गरेको इतिहास त्यो भवनले बोकेको छ। लुइ कानसंग त्यो घटनाकै सन्दर्भमा हामी क्षमाप्रार्थी थियौं, तर यसपालिको विध्वंशले त झनै गहिरो क्षमा माग्नु पर्ने स्थिति छ। यी घटनाहरुले समग्रमा हाम्रो वास्तुकला सम्बन्धि चेत र विवेकको अवस्था झल्काए झैँ लाग्छ। तथापि आज पुनर्निर्माणको कुरा हुँदै गर्दा अघिल्लो ब्लगमा लेखे झैं हाम्रा मूल्य, मान्यता अनि तत्व र महत्वहरु बारे विचार गर्दै कदम सार्नु पर्ने भन्दै गर्दा, मलाइ एकपटक ती आर्किटेक्टहरु पनि सम्झनु पर्छ जस्तो लाग्छ, अनि पुनर्निर्माणको क्रम मा उनीहरुको डिजाइनको अवधारणा र उपादेयतालाई फेरी एकपटक सोचि विचारी कदम चाल्नु ठिक होला जस्तो लागेर यी सम्झना र जानकारी यहाँ लेख्ने जाँगर चलाएको हुँ।

हुन त लुई कानले आफ्ना दक्षिण एसियामा भएका आयोजना सम्पन्न भएको देख्न पाएनन्, सन् १९७४मा दक्षिण एसियामा कामको सिलसिलमा आएर घर फर्किंदै गर्दा अमेरिकामा एउटा रेल्वे स्टेशनमा हृदयघातको कारणले उनको मृत्यु भयो। उनको बारेमा पछि उनका छोराले बनाएको वृत्तचित्र निकै प्रसिद्ध पनि भयो। मैले भने उत्सुकतावश लुई कानका दक्षिण एसियाका तीन आयोजनाहरुको तुलनात्मक चर्चा गर्न सानो अनुसन्धान गरेर एउटा लेख प्रकाशित गरेको थिएँ। अंग्रेजीमा प्रकाशित सो लेखका शब्दहरु यहाँ संगालेर राखेको छु, यदि चासो भए यहाँ पढ्नु होला

मेरो अध्ययनको निष्कर्ष चाहिं आर्किटेक्ट गतिलो हुँदैमा वा उनको रचना गतिलो हुँदैमा कुनै संरचना प्रख्यात हुने वा त्यसलाई सम्पदा भनेर मनिहालिने भन्ने हुन्दैन रहेछ, यो त सम्बन्धित ग्राहक (client ) र त्यो समाजले वास्तुकलाका ती नमुनाहरुलाई कसरी अपनत्व गर्छन वा गर्दैनन्, त्यसमा भर पर्छ भन्ने रह्यो। हुन पनि अहमदाबादको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट प्रशासनले विगतमा बारम्बार त्यहाँका पुस्तकालय र छात्रावास भवनहरु भत्काउने वा परिवर्तन गर्ने प्रयास गर्दा त्यहाँका भूतपूर्व विद्यार्थी र अन्य सरोकारवालाहरुको चासो र विरोधले ती भवनहरु अझै पनि रहिरहेका छन्। बंगलादेशीहरु पनि आफ्नो संसद भवनलाइ उत्तिकै महत्वपूर्ण मान्छन्। अघिल्लो वर्षको आन्दोलनमा त्यहाँका फर्निचरहरु जलाइए र साधारण तोडफोड भए पनि उनीहरुले आगो लगाएर ध्वस्त बनाउने काम चाहिं गरेनन्। खैर जे भए पनि , यहि विषम परिस्थितिमै भए पनि हाम्रो कला, संस्कृति र परिचयको द्योतक बन्न सक्ने वास्तुकला, भवन, संरचनाहरु बारे हामी पनि समग्रमा सचेत हुन्छौं भन्ने आशा छ। तर अहिले लाइ जे भयो, त्यस्का लागि यी तीन आर्किटेक्ट लगायत अन्य भवनका आर्किटेक्टहरुसंग क्षमायाचना त गर्ने पर्छ जस्तो लाग्छ। र क्षमा लायक हामी त्यति बेला हुन्छौं, जतिबेला हामीले हाम्रा संरचना, तिनका पुनर्निर्माण अनि संरक्षणका कुराहरुमा अलिकति सजग र विवेकशील हुन्छौँ।

Written by नीलकमल चापागाईं | Part of Neel Kamal Chapagain's Thoughts and Reflections