भग्नावशेषलाई सम्पदाको रुपमा हेर्दा: मेरो विचारमा अबको बाटो

- नीलकमल चापागाईं

GenZ आन्दोलनको क्रममा केहि सम्पदाप्रेमीहरुको प्रयासले पुरातत्व विभाग रहेको भवन बच्न पुगेको भन्ने खबर पढियो । त्यस्तै अरु केहि भवनहरु ति सम्बन्धित भवन वा कार्यालयमा कार्यरत कर्मचारीहरुको आँटिलो प्रयासले बचेको भन्ने पनि पढियो। यी एकदम सराहनीय कार्यहरु हुन् र यिनले संवादबाट पनि सम्पदा बचाउ गर्न सकिने रहेछ भन्ने विश्वास दिलाएको छ । तर अरु संरचनाको हकमा किन सम्बन्धित कर्मचारी र सुरक्षा निकायका सदस्यहरुले र स्वयं प्रदर्शनकारीहरुले पनि अलिकति पनि भावनात्मक सम्बन्ध महसुस गरेनन् त भन्ने प्रश्न पनि टड्कारो भएको छ। यी कुराहरु गत हप्ताको ब्लगको प्रत्रिक्रियामा आर्किटेक्ट उपेन्द्र सापकोटाले उठाउनु भएको अपनत्वको विषयसंग ठ्याक्कै जोडिन्छ, यसको बारेमा त कुरा गर्नु छँदैछ । हुन त मेरो प्राध्यापन र कार्यपत्रलेखन इत्यादिमा सम्बन्धित जनसमुदायको अपनत्व र सक्रिय सहभागिता बिना सम्पदा संरक्षण र व्यवस्थापन अधुरो रहने कुरा त मैले नि गर्दै आएको हो। यी केहि उर्जाशील खबरहरुलाई खोजीनिती गरेर अझै विस्तृत छलफल गरौंला, आज चाहिं हाम्रा अहिलेका भग्नावशेषहरुलाई सम्पदा संरक्षणको दृष्टिले हेर्ने कोशिश गर्ने छु। हालै नेपाल इन्जिनियर्स एसोसिएसन र सोसाइटी अफ नेपाली अर्किटेक्ट्सबाट तत्कालको Rapid Visual Assessment हुन थालिसकेको समाचार आउन थालेका छन्, जुन समयोचित छ। केहि पत्रकार वा लेखकहरुले जे जति बाँकी रहेका भग्नावशेषहरुमध्ये केहि महत्वपुर्ण संरचना भएकाले तिनलाई संग्रहिकरण (museumization) गर्नु पर्ने भन्ने राय पत्रपत्रिकाहरुमा लेखेको पनि पढ्न पाइयो । यस्तै सन्दर्भमा सम्पदा (Heritage) को अवधारणा, तिनका संरक्षणका विधिहरु र हामीले अहिले अङ्गाल्न सकिने बाटाहरुको सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्दैछु।

सम्पदा (Heritage) के लाइ भन्ने ?

यो त मेरो अध्ययन-अध्यापनसंग सम्बन्धित विषय भएकोले धेरै लामै चर्चा गर्न मन लाग्ला, तर छोटकरीमा मेरो धारणा राख्छु। त्यस्ता कुराहरु जसले समाजमा केहि अर्थ राख्छन् अनि ति समाजका परिचय र भविष्यसंग जोडिन्छन्, त्यस्ता कुराहरुलाई सम्पदा भन्न सकिन्छ भन्ने मेरो मान्यता हो। यस हिसाबले हेर्दा ऐतिहासिक संरचना बाहेक अन्य महत्वका कुराहरु - परम्परा, सीप र कौशल, लवाईखवाई र अन्य मूल्यमान्यताहरु लगायत राम्रो वा नराम्रो धेरै कुरालाई सम्पदा भनेर चिन्न सकिन्छ। हजुर, नराम्रा वा अप्रिय कुरा पनि सम्पदा हुन सक्छन् , जस्तो कि राणा शासन वा पंचायती शासनका अवशेष जनाउने कुराहरु पनि एक हिसाबमा सम्पदा नै हुन्, तर तिनीहरुलाई कसरी प्रस्तुत गर्ने भन्ने तरीका फरक हुन सक्छ। प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक इत्यादि अनुसर्ग लगाएर कुन खालको सम्पदा भनेर छुट्याउने चलन पनि छ। तर साधारणतया त्यस्ता कुनै कुरा सम्पदा त्यतिबेला मात्रै मान्ने गरिन्छ, जुनबेला कुनै प्रक्रियाले तत्सम्बन्धी एउटा निर्णय वा सहमति जाहेर हुन्छ। यो निर्णय वा सहमति हुने कुरामा पुगेर सम्पदा भन्ने कुरा कहिले कानुनी, कहिले राजनीतिक विषय वस्तु हुन पुग्छ। खास त यो सम्बन्धित समुदायको छलफलमा आधारित हुनुपर्ने तरिका नै प्राथमिकतामा हुनु पर्ने हो, तर हालको शासकीय स्वरुपमा सरकारले वा कुनै UNको एजेन्सीको प्रक्रिया हावी भएको छ। त्यसैले त हामी स्थानीय वा रैथाने सम्पदा भन्दा UNESCO को विश्वसम्पदालाई बढी मान्यता दिन्छौं। हालसालैको UNESCO World Heritage Committee बैठकमा हाम्रो कपिलवस्तु विश्व सम्पदा सुची मा संलग्न नभएको कुरालाई सम्पदाको राजनीति मान्न पनि सकिन्छ भनेर मैले मार्टिन चौतारीमा एउटा चर्चा पनि गरेको थिएँ, (त्यो कार्यक्रम यहाँ हेर्न सकिन्छ। )

सम्पदा संरक्षण (Heritage Conservation)का तौर तरिका के कस्ता छन् ?

जुनसुकै तरिकाले कुनै कुरा सम्पदा भनेर मानियो र तिनको संरक्षण गर्नु पर्ने भयो भने त्यसका पनि धेरै विधि छन्। हुन त यी अधिकांश कुराहरु युरोपेली सन्दर्भबाट शुरु भएकाले तिनको आलोचना पनि हुँदै आएको छ, तैपनि मोटामोटीरुपमा निम्न प्रक्रियाहरु अहिलेलाई सम्झिनु ठिक होला। खाँटी नेपाली शब्द ठ्याक्कै यहि भन्ने नभएकोले अहिलेलाई केहि नेपाली र अंग्रेजी दुवैभाषामा र केहि अंग्रेजीमै मात्रै लेखेको छु, तर अहिलेलाई ति सबैको व्याख्या गर्न तिर भने लाग्दिन ।

१. नितान्त संरक्षण (preservation )
२. सम्वर्धनात्मक संरक्षण (conservation )
३. जिर्णोद्धार (restoration )
४. …… (rehabilitation )
५. adaptive reuse
६. anastylosis
७. reconstruction
८. New Design/Construction

हाम्रा भग्नावशेषलाई कसरी संरक्षण र व्यस्थापन गर्न सकिएला त?

जे हुनु भैसकेपछि भग्नावशेष मुलत हिजोका दिनका मुर्त वा प्रत्यक्ष सम्झनाहरु हुन् र तिनलाई संरक्षण गर्ने चाहना हुँदा मुलत तिनवटा तरिका हुन सक्छन् –
(i) एउटा त तिनलाई भग्नावशेषकै रुपमा संरक्षण गर्ने, र इतिहासको एक कालखण्ड सम्झाउने हिसाबले संग्रहालय (museum)को धारणामा जाने - यो तरिकाले भग्नावशेषको जे जस्तो स्वरुप छ, त्यसलाई भग्नस्वरुपमै न्युनतम भन्दा न्युनतम हस्तक्षेप गरेर भग्नावशेषकै रुपमा बचाउने र प्रदर्शनमा राख्ने भन्ने हुन्छ ।
(ii) अर्को चाहिं भग्नावशेषमाथि पहिलेकै जस्तो निर्माण गरेर बाँकी भाग पुरा गर्ने - जे छ त्यसैलाई संरक्षण गर्ने र भत्किनुभन्दा अगाडिको साविकको स्थितिमा फर्काउने हिसाबले आवश्यक निर्माण सम्म गर्नु भन्ने हुन्छ।
(iii) अझ अर्को भनेको भग्नावशेषलाइ यथासम्भव बचाउने, त्यसैमा पुनर्निमाण गर्ने तर अझ राम्रो ढंगले बनाउने हुनसक्छ । यसो गर्दा भग्नावशेषलाई बचाउने तर बाँकी पुननिर्माण गर्दा पहिलेको भन्दा फरक पनि हुन सक्ने हुन्छ । यसमा आधुनिक डिजाइनको चलनमा भग्नावशेष पनि बचाउँदै त्यसलाई समेटेर आवश्यकता अनुसारको डिजाइन गर्ने तर भग्नावशेषलाइ त्यहि भित्र समेट्ने, वा भग्नावशेषलाइ अलि अलि सम्झना राख्दै नितान्त अध्यावधिक डिजाइन अवलम्बन गर्ने पनि हुनसक्छ ।

जुन विधिबाट अगाडी बढे पनि मूलकुरा चाहिं तत् तत् सम्पदाको मूल भाव वा तत्व / महत्व (values) के हो भन्ने पहिले निर्धारण हुनुपर्छ, त्यसपछि ति values हरु कसरी संरक्षण गर्न उचित हुन्छ भन्ने तय गर्न सजिलो हुन्छ । यी तिन प्रक्रिया भित्र पनि अझ विस्तृत छलफलमा जाने हो भने अझ बढी फरक मतहरु पनि निस्कंदै जान सक्छ। अर्थात् सम्पदा संरक्षणको विधिबाट यसै नै हुने भन्दा पनि कुन तरिकाले जाने हो भने कस्तो हुन सक्छ भन्ने खालको छलफल गहिरो हुँदै जान्छ। मेरो बिचारमा हरेक प्रसङ्ग र ठाउँ अनुसार जे ठिक हुन्छ, त्यहि गर्दा हुन्छ, तर सबैभन्दा महत्वपुर्ण कुरा चाहिं त्यो भग्नावशेष सम्पदाको values र त्यसको इतिहासलाइ कसरी अर्थ्याइएको र प्रस्तुतीकरण गरिएको हुन्छ, त्यो हो। अनि कुन प्रक्रियाबाट डिजाइनको अन्तिम प्रारुपमा पुगियो भन्ने पनि महत्वपूर्ण हुनजान्छ।

तसर्थ सम्पदा संरक्षणका प्रस्तावहरुमा एउटा बहुपक्षीय समितिले रुजु गरेर वा सकिन्छ भने सार्वजनिक सुनुवाई गरेर सरोकारवाला समुदायको राय सल्लाहमा एउटा निचोडमा पुग्नु उचित हुन्छ जस्तो लाग्छ। यस्तो गर्दा उपेन्द्रले भनेजस्तो अपनत्व पनि होला, अनि धेरैलाई चित्त बुझ्ने स्वरुप आउला। छलफल बढी जटिल भयो भने चाहिं एउटा समितिले निर्णय गरे हुन्छ, तर बहुपक्षीय सोच चाहिं राख्नु पर्यो। अहिले लाइ मोटामोटी यति नै भन्न मन लाग्यो। निश्चित सुत्र र सिद्धान्त नै हुनुपर्छ भन्ने मलाइ लाग्दैन। हामीले जेलाइ सम्पदा मान्छौं, त्यसलाई कसरि राम्ररी प्रस्तृत गर्न सक्छौं भन्ने कुरा मुख्य हो। माथि लेखिएका प्राविधिक शब्दावलीबाट भन्नु पर्दा अहिलेको स्थितिमा हामी rehabilitation, adaptive reuse, reconstruction र new design/construction का अवधारणाहरुको समिश्रणमा जानु पर्ला, तर सम्पदाको तत्व र महत्व अनि इतिहासको त्यो प्रसंगको प्रस्तुतिकरण र अभिलेखीकरण चाहिं हुनु पर्यो ति हरेक बन्ने संरचनामा।

यी काम गर्दा हामीले अहिलेका शिक्षार्थीपुस्ता जो आर्किटेक्चर वा सम्बन्धित विषय पढिरहेका छन्, उनीहरुलाई संलग्न गर्न सक्छौं, किनकि भोलि यसको संरक्षण गर्ने दायित्व उनीहरुमा आउँछ। त्यस्तै परम्परागत कलिगढ़, रैथाने सामग्रीको प्रयोग र आफ्नोपन झल्काउने विम्ब र स्वरुपमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ, त्यसो भनेर नयाँ कुरा प्रयोग नै नगर्न भन्न खोजेको पनि होइन, एकै खालको स्वरुप सबैतिर झल्किने भन्ने पनि होइन। जस्तै सिंहदरबारका शैलीलाइ नेवारी वास्तुकला थोपर्न भएन, अनि कुनै नयाँ संरचना बन्ने भए राणाकालीन शैली नै दोहोर्याउनु पर्छ भन्ने पनि भएन। सम्पदा संरक्षणलाइ अमुक शैली संग मात्रै जोड्ने भन्दा पनि त्यसको आशय र सांकेतिक र प्रायोगिक मान्यतालाई पनि सोच्नु पर्यो भन्न खोजेको हो। अझ सकिन्छ भने खाडीमा वा अन्यत्र निर्माण सम्बन्धि काम सिकेका वा गरेका दाजुभाइ दिदीबहिनीहरु - जो देश फर्किएका होलान वा फर्किन चाहन्छन, उनीहरुलाई पनि उनीहरुको सिप प्रयोग गर्ने मौका दियौं भने रोजगारी पनि भविष्यको इतिहास पनि बन्न सक्छ। सम्बन्धित कर्मचारी वा GenZ समुहहरुले स्वेच्छिक श्रमदान गर्न खोजे, उनीहरुलाई समेट्नु पर्छ, तब मात्र हाम्रो सम्पदा हाम्रो रुपमा बन्छ। २०१५ को भुकम्प पछिको पुननिर्माण जस्तो यो सम्पदा फलानो देशले त्यो सम्पदा तिलानो देशले बनाएको कथा दोहोरियो भने चाहिं हाम्रो सम्पदा अरुको जगमा बन्छ , त्यसो चाहिं नगर्ने हो कि?

पहिले पहिले सम्पदाको कुरा बढी ऐतिहासिक, भब्य र कलात्मकतामा बढी आधारित थियो भने हिजो आज सम्पदाको कुरा जनसरोकार र सम्बन्धमा आधारित हुनुपर्छ, त्यसले विगत र भविष्यलाई जोड्ने सेतुको काम गर्नु पर्छ, र समाजोपयोगी हुनुपर्छ भन्ने धारणा बलियो हुँदै आएको देखिन्छ। त्यस मानेमा सम्पदा संरक्षणलाइ केवल निर्माण सामग्री र निर्माण शैलीको रुपमा लिन मिल्दैन, यो त समाजका परिचायक, भावना र आकांक्षा प्रतिविम्वित गर्ने हुनुपर्छ भन्ने तिर हाम्रो सोचाई बढ्दै गएको छ।

त्यहि भएर मेरो धारणा प्राविधिक कम सामाजिक बढी तरिकाले प्रस्तुत गर्दैछु।

भोलि गएर व्यवस्थापनको पक्षमा चाहिं यी संरचनाहरु जनसमुदायको पहुँच मा हुन्छ कि घेराबाराभित्रै थुनिएर बस्छन्, त्यस्ता कुरा पनि महत्वपूर्ण हुन्छन् किनकि सम्पदा भौतिकसंरचना हुँदैमा बन्ने होइन, सम्पदा बन्न त मान्छेको मन जोडिएको हुनु पर्छ। त्यसको लागि एउटा गहिरो विश्लेषण गर्नु जरुरी छ। सिंहदरबार लगायतका संरचनाहरु लाइ सम्पदा मान्दा तिनीहरुको प्रयोग अनि तिनको जनतासंगको सम्बन्ध वा भोलिका दिनमा ति सम्पदाको भूमिका के हुने भन्ने हिसाबले सोचेर पनि पुनर्निमाणको एउटा तरिका पहिल्याउन सकिन्छ, त्यहि जिम्मेवारीपूर्ण सोचमा सम्पदा संरक्षणको धारणा सम्मिलित गरियो भने त्यो पनि एउटा राम्रै प्रयोग हुन्थ्यो, न कि कोरा सम्पदा संरक्षणको नाममा ति संरचनाका भावी प्रयोग पनि ऐजन ऐजन नै स्थापित गर्ने। मलाई लाग्छ हाम्रो अहिलेको जटिल परिष्थितिलाई आत्मसात गर्दै सम्पदाको सोच र संरक्षणको अवधारणालाई समय सापेक्ष बनाउन सकिन्छ। यसको लागि अलि गहन छलफल हुनु जरुरी छ।

झट्ट सुन्दा वा पढ्दा केवल परिकल्पना लागेपनि सम्पदाको चिन्तनको हिसाबले र संरचना पुननिर्माणको हिसाबले यी माथिका विचारहरुलाई मुर्त रुपमा कार्यन्वयन गर्न हामि सक्षम छौं, मौका र हातेमालोको खाँचो छ।

यदि SONA, NEA, ICOMOS जस्ता संस्थाहरुसंगको सहकार्यमा यो काम अगाडी बढेछ भने खास खास संरचनाको छुट्टै विश्लेषण गरेर आफ्नो धारणा र सुझाव राख्न तयार छु , त्यतिन्जेल यो विषयमा यति नै।

शनिबार, ४ आश्विन २०८२
२० September २०२५