Neel Kamal Chapagain's Thoughts and Reflections
- बेइजिंग (चीन)मा अरनिकोको श्वेत चैत्य | January 7, 2026
- जलवायु परिवर्तन सम्बन्धी थामेले गराएको ध्यानाकर्षण!!! | December 13, 2025
- Waking up to the climate change | December 13, 2025
- Declaring DoA&NA building as ‘heritage’ and implications for the Department of Archaeology | October 3, 2025
- माफ गर्नुहोला आर्किटेक्ट महोदयहरु!!! | September 27, 2025
- Sorry, Architects!!! | September 26, 2025
- भग्नावशेषलाई सम्पदाको रुपमा हेर्दा: मेरो विचारमा अबको बाटो | September 20, 2025
- भग्नावशेष, हामी, र भविष्य | September 12, 2025
जलवायु परिवर्तन सम्बन्धी थामेले गराएको ध्यानाकर्षण!!!
नीलकमल चापागाईं
१३ डिसेम्बर २०२५
दुई महिना भइसकेछ मैले पछिल्लो ब्लग लेखेको र यो बीचमा मेरो व्यस्तताको कारण मेरो व्यवसायिक यात्राहरु नै थिए जसमा अन्यमुद्दाहरुको साथै जलवायु परिवर्तन पनि मुख्य रुपमै उठिरहेकै हुन्थे —सिओलदेखि दिल्ली, साँघाइदेखि सिंगापुर, लुम्बिनी देखि लुक्ला, काठमाडौं र–काभ्रे बीचमा। तर, गत महिना थामेको यात्राले साञ्चै नै मलाइ अर्धनिन्द्राबाट ब्युँझायो।
खुम्बु क्षेत्र —औपचारिक रूपमा सगरमाथा राष्ट्रिय निकुञ्ज, मा—हाम्रो यात्रा नोभेम्बरको मध्यतिर थियो, जतिबेला पर्यटकीय सिजन सकिन लागेको भनिएको थियो, तर पर्यटकको संख्या देख्दा खास सिजनमा झन् कति भिडभाड हुँदो होला भनेर अनुमान लगाउन सकिन्थ्यो। नेपालका अन्य क्षेत्रहरूकी तुलना गर्दा म यस क्षेत्रका पर्यटकहरूको संख्या र पर्यटन पूर्वाधार तथा व्यवस्थापनले निकै प्रभावित भएँ। मेरो आफ्नो अध्ययनको लागि पर्यटनका प्रभावहरू, मोटरबाटो नहुँदाको सुन्दरता तर शायद आजको आवश्यकता (नेपालका अधिकांश ग्रामीण पालिकाहरूले अभूतपूर्व दरमा सडक निर्माण गरिरहेका छन्), राष्ट्रिय निकुञ्जको धरोहर—त्यसमाथि विश्व सम्पदा सूचीमा परेको क्षेत्र र तिनको विविध पक्षका व्यवश्थापन —आदि धेरै सिकाइका पक्षहरू थिए। सबैभन्दा महत्वपूर्ण चाहिं थामेको यस यात्राले मलाई मेरो अहिलेसम्मको जलवायु परिवर्तनप्रति रहेको सतही चेतनाको बारेमा राम्रै होस् दिलायो । त्यसैको फलस्वरूप यो साधारण ब्लग लेख्ने सुर चलेको हो ।
१० नोभेम्बर २०२५ मा, हामी समुद्री सतहदेखि २८४५ मिटर उचाइमा अवस्थित तेन्जिङ–हिलारी विमानस्थल, लुक्लामा अवतरण गर्यौँ। विमानहरूको अवतरण–उडानले मलाई अत्यन्तै मोहित पार्ने भएकाले मैले केही समय त्यहाँबाट हुने उडान र अवतरणहरू नियालेर बिताएँ। यो एउटा अवलोकनयोग्य अनुभव हो । फर्किंदा पनि म रनवेको छेउ–किल्लासम्मै हिँडेर गएँ र त्यहीँबाट उडान तथा अवतरण हेरेँ। विमान हेर्ने यो मेरो मनोरञ्जनभन्दा पनि म एडमण्ड हिलारीले यो विमानस्थल बनाउन के कस्तो कल्पना गरेहोलान् भनेर सोच्न खोजिराखेको थिएँ किनभने यो संसारकै अप्ठेरो र खतरापूर्ण विमानस्थल भनिए पनि यसको मानवीय पक्ष साह्रै गहिरो थियो भन्ने मेरो बुझाई थियो । तर हिजोआज त ब्यापारको हिसाबले डलरका यात्रु र नेरुका यात्रुबीच गरिने भेदभावले राम्रै कामको पनि कतै कतै स्वार्थपूर्ण प्रयोग हुने रहेछ भन्ने बोध गराए झैं लाग्छ। त्यस हिसाबले पनि यो यात्रा अनुभव मेरो लागि एउटा महत्वपुर्ण सिकाइको साथसाथै हाम्रो भूगोल, संस्कृति र हाम्रो ज्ञान अनि जिम्मेवारीहरु सम्बन्धमा आत्मबोध गर्ने मौका थियो ।
सगरमाथा क्षेत्रको प्रवेश विन्दु मानिने लुक्ला विमानस्थल छोटो उडान–अवतरण (STOL) श्रेणीमा पर्ने र जटिल भौगोलिक परिस्थितिमा बनेको कारणले विशेष छ। अवतरण गर्ने विमानहरू रनवेको माथितिर उक्लिने ढलानको कारण स्वतः नै रोकिने प्रक्रियामा हुन्छन् भने उडान भने ओरालो धावन मार्गको कारणले केही डर लाग्दो देखिन्छ, — यो कुरा रनवे २४ बाट उडानको रमिता हेर्दा स्पष्ट देखिन्छ। मेरो आफ्नो विमान र उड्डयन सम्बन्धी चासो एकातिर, लुक्लामा हुँदा म सगरमाथा क्षेत्रको आर्थिक विकास र पर्यावरणीय अन्तरसम्बन्धको बारेमा केहि बुझ्ने प्रयासमा पनि थिएँ।
भनिन्छ, एडमण्ड हिलारीले नै यो विमानस्थल निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, र अन्ततः २००८ मा यो विमानस्थल उनी र तेन्जिङको नाममा राखियो, जुन अत्यन्त उचित हो। विमानस्थलको छेउमा रहेको यी दुइ पर्वतारोहीको शालिकले त्यहाँबाट यात्रा गर्ने सबैलाई नियालिरहेका वा स्वागत गरेको भान हुन्छ । लुक्ला छोडेर पदयात्रा शुरु गर्ने बिन्दुमा बनाइएको पासांग ल्हामु शेर्पा द्वार र संग्रहालयले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिलाको सम्मान गरेको पाइन्छ भने बाटोमा हिलारी पुल र नाम्चे बजारस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयको हातामा रहेको तेञ्जिङ्ग शेर्पाको शालिकले यी व्यक्तिवहरुको सम्झना दिलाउँछ।
मेरो विचारमा, उनीहरूको ऐतिहासिक आरोहणको साविक महत्व त छँदैछ, तर आज फर्केर हेर्दा आजको वातावरणीय प्रभाव र हाम्रा हिमशृंखलामा कहिलेकाहीं अलि बढी नै देखिने भिडभाडको लागि जिम्मेवार पनि हो कि जस्तो लाग्छ । यद्यपि, मानिस र वातावरणप्रति हिलारीको नैतिक चिन्तन प्रशंसनीय छ, र लुक्ला विमानस्थल (तेन्जिङ–हिलारी विमानस्थल) स्थानीय जनताको हितका लागि बनाइएको उनको भावनाको प्रतीक पनि हो—केवल डलर तिर्ने पर्यटक र साधारण नेपालीबीच असमानता सिर्जना गर्ने उद्देश्यले होइन। यदि १९५३ तिरै ‘जलवायु परिवर्तन’ आजजस्तो चर्चाको मुख्य शब्द भएको भए, म अनुमान गर्छु—तेन्जिङ र हिलारीले पनि विश्वकै चुचुरोबाट यसबारे सबैको ध्यानाकर्षण गराउँथे। तर कमसेकम तेञ्जिङ्ग शेर्पाकै जन्मथलो - थामेले आज मलाइ जलवायु परिवर्तनको मुद्दाको बारेमा घच्घच्याई रहेछ, जहाँ पुग्न हामीलाई तीन दिनको पैदल यात्रा तय गर्नु थियो। अन्तत आजको ठ्याक्कै एक महिना अघि - १३ नोभेम्बरमा हामी थामे पुगेका थियौं।
थामे गाउँ तेञ्जिङ्ग शेर्पाको जन्मथलो मात्रै नभएर पर्वतारोहणमा आफ्नो ऐतिहासिक योगदानका लागि चिनिने धेरै सुप्रसिद्ध शेर्पाहरू—आपा शेर्पा, कामी रीता शेर्पा, आङ रीता शेर्पा लगायतका आजका कीर्तिमानी आरोहीहरुको गाउँ पनि हो रहेछ। साथै धेरै चर्चामा नआउने तर थामेका गौरव - खुम्बु क्षेत्रकै पहिलो डाक्टर कामी तेम्बा शेर्पा, र कीर्तिमानी एवरेस्ट म्याराथुन विजयी श्रीमती आङ दामी शेर्पाको पनि गाउँ हो। अनि सबैभन्दा लोकप्रिय त सगरमाथा क्षेत्रको पर्यटकीय हिसाबले शान्त र सौम्य पर्यटकहरुले खचाखच रहने एक सुन्दर गाउँ पनि हो। यहि गाउँले गत बर्ष अकस्मात एउटा विपत्तिको सामना गर्नु पर्यो, तर भाग्यवश प्राकृतिक वितन्डाको वावजुद कसैको पनि ज्यान चाहिं गएन । त्यो हिमताल विस्फोट भएर आएको लेदो र ठुल्ठुला चट्टानहरु सहितको बाढीको गर्जनले पुर्व सुचनाको काम गरिदिनाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लगायत सबै गाउँले बेलैमा गाउँ छेउको उच्च भूभागमा गएर ज्यान जोगाउन सफल त भए तर आफ्नो प्यारो गाउँ बाढीले खर्लप्पै निलेको दृश्य टुलुटुलु हेर्न विवश थिए। उनीहरुको अनुभव ताजैमा रेकर्ड गरिएको
यो भिडियोमा पनि हेर्न सक्नु हुन्छ
लगभग एक वर्षपछि, गत महिना थामे पुगेर त्यहाँका बासिन्दाहरूसँग कुराकानी गर्दा जलवायु परिवर्तनको प्रतक्ष्य असर तथा विपत्तिको सामना र त्यसपछिका पुनर्स्थापनाका विविध पक्षहरुको धरातलीय यथार्थ बोध गर्ने अवसर भयो। विपत्तिको बेला उनीहरू रुनु–आत्तिनु स्वाभाविकै थियो, तर प्रकृतिको क्रोधलाई ‘हुने कुरा’ को रूपमा स्वीकारेर जीवनलाई अघि बढाएको देखेर म निकै प्रभावित भएँ। केही व्यक्तिहरूले आफ्ना घरका कतिपय भागहरू र गेस्टहाउसहरू पुनर्निर्माण गरिसकेका रहेछन्, र यद्यपि यस वर्ष सानो मात्रामा भए पनि पर्यटन फेरि फर्किएको छ। केहि घरपरिवार स्थायी रुपमा स्वैच्छिक वा बाध्यात्मक विस्थापन हुनु परेको पनि सुनियो।
कृषि क्षेत्र, घाँसेमैदान, केही धार्मिक–अनुष्ठानिक स्थानहरू बाढीले बगायो, तर थामेलाई फेरि उठाउने शक्ति भनेको त्यहाँको ‘जीवित संस्कृति’ हो। यिनै जीवन्त संस्कृतिबाटै जीवन्त सम्पदा शृजना हुन्छ भने कतिपय समयमा विगतका सम्झनाहरुले पनि महत्वपूर्ण साँस्कृतिक सम्पदाको सुत्रधार गरिरहेको हुन्छ। नितान्त दैनिक र व्यक्तिगत हिसाबमा बाढीले बनाएको बगरमा हिड्दा भेटिने घरायसी सरसामानले पनि विगतको झझल्को, पिडा, यथार्थ र सम्झनाको सुत्र कायम गरेको भान हुन्थ्यो - उदाहरण स्वरुप बगरमा एउटा चम्चाको फोटो खिचेको थिएँ (तल हेर्न सक्नु हुन्छ), पछि थाहा भयो उहाँहरु अझै पनि त्यस्ता सरसामग्रीहरु भेट्दा संकलन गरेर नयाँ घरमा ल्याउनु हुँदो रहेछ। साँस्कृतिक सम्पदाका हामीजस्ता अध्यार्थीका लागि यस्ता साना साना दृष्टान्तले पनि ठुला अर्थ राख्छन्।
उहाँहरुले हामीसँग आफ्नो साहस र समयमै पहाडतिर भागेर सबैलाई बचाएको अनुभव सुनाउनु भयो। ज्यान जोगाउन आश्रय लिएको अलि उचाइको भूभागबाट तल तल घरहरू पानी, हिलो र ठूला ढुंगाहरूको गर्जनसँगै बगिरहेको दृश्यलाई असह्य पीडासहित हेर्नुपरेको पनि सुनाउनु भयो। हामीसँगको छलफलमा केही लामाज्युहरुले हामीलाई भन्नु भयो - हामी बाँचिरहेको यो युगमा विपत्तिहरू त अवश्य पनि आउँछन्, तर इमानदार प्रार्थनाले सायदै सही–समयमा क्षति हुन नदिएको होला। पोहोरको बाढी पछि परम्परागत तीन दिन लामो प्रार्थना सम्पन्न गरियो, जसले विपत्तिको पीडा घटाउने विश्वास राखिन्छ। यसपाली थामेमा भएको साँस्कृतिक सम्पदा सम्बन्धी छलफलमा केहि लामाज्युहरुले भन्नु भएको कुराहरु बुझेको छु भने उहाँहरुको दर्शनमा मानव र प्रकृति बीचको सम्बन्धको व्याख्या निकै गहिरो संग गरिएको छ, जुन निकै महत्वपूर्ण छ। हामीले त्यस्ता स्थानीय दर्शन र जिम्मेवारीका भावबाट धेरै सिक्नु छ।
हिमालको हिउँ–प्रणाली (cryosphere) मा काम गर्ने अनुसन्धानकर्ताहरूले सम्भावित खतरनाक हिमतालहरूको सूची तयार पारेका छन् भनिन्छ, तर २०२४ को बिपत्तिको कारण बनेका तालहरू त जोखिमयुक्तको रूपमा पहिचान गरिएको सूचीमै परेनन्। यसको अर्थ मेरो लागि के हो भने—जोखिम पहिचान र पूर्वानुमान गर्ने मामिलामा विज्ञान र वैज्ञानिकहरू स्वयंले पनि अझ धेरै टाढासम्म यात्रा गर्न बाँकी छ। यस्तो परिस्थितिमा, बौद्ध दर्शन ज्ञानले हामीलाई धेरै कुरामा सचेत गराउन सक्छ। यसपालिको थामेको छोटो बसाई र छलफलबाट यस्तै तत्वबोध भयो र आ-आफ्नो बलबुतामा हामी सबैले यो पर्यावरणीय समस्यासँग हातेमालो गर्नै पर्छ भन्ने महसुस भयो। हुन त यो कुरा यदाकदा हाम्रो पढाई सिकाइमा नआएका त होइन तर सायद मेरो बुझाई यथार्थ धरातलीय रुपमा भएकोले मैले यी जानेकै कुरालाई यथार्थ चित्रण गर्न मात्र खोजेको हो। शब्द भन्दा प्रस्ट तस्विरहरु पनि हुन सक्लान,त्यसैले खुम्बु क्षेत्रका केहि दृश्यहरु तल राखेको छु, तिनले पनि विभिन्न संदेश प्रवाह गर्लान्।