Neel Kamal Chapagain's Thoughts and Reflections
- बेइजिंग (चीन)मा अरनिकोको श्वेत चैत्य | January 7, 2026
- जलवायु परिवर्तन सम्बन्धी थामेले गराएको ध्यानाकर्षण!!! | December 13, 2025
- Waking up to the climate change | December 13, 2025
- Declaring DoA&NA building as ‘heritage’ and implications for the Department of Archaeology | October 3, 2025
- माफ गर्नुहोला आर्किटेक्ट महोदयहरु!!! | September 27, 2025
- Sorry, Architects!!! | September 26, 2025
- भग्नावशेषलाई सम्पदाको रुपमा हेर्दा: मेरो विचारमा अबको बाटो | September 20, 2025
- भग्नावशेष, हामी, र भविष्य | September 12, 2025
भग्नावशेष, हामी, र भविष्य: एक आर्किटेक्टको दृष्टिकोण
- नीलकमल चापागाईं
हामी इतिहासको एउटा जटिल मोडमा छौं, रुन्चे हाँसोको संघारमा छौं, शायद सगरमाथा आरोहणको त्यो ‘हिलारी स्टेप’ मा छौं (शेर्पा फड्को भन्न उचित हुनेथियो शायद) । तर आरोहण पश्चात सगरमाथा आरोहीहरु त एकै छिन फोटो खिचेर अवतरण तिरै लाग्छन, मेरो आशा चाहिं सगरको यो माथामै पुगेपछि त हामी अब बादल माथि माथि उड्छौं होला भन्ने हो - फेरी फर्केर उही पुरानै धरातलमा न आइएला नि । हुन त बादल माथि रहे पनि समग्रमा त पृथ्वीकै इकोसिस्टमकै आधारमा चल्ने हो। तसर्थ यी सबै सापेक्षिक कुरा त हुन्, तै पनि आफ्नो सन्दर्भमा केहि विचार विमर्श त हुने पर्छ, बरु त्यो साधारण भाषामा गर्नु ठिक होला। आर्किटेक्चर र सम्पदा (heritage) को विद्यार्थी भएको नाताले म भौतिक संरचना र त्यसलाई थोरै सम्पदाको बुझाईबाट हेर्ने प्रयास गर्छु।
यतिबेला इतिहास सम्झिने वर्तमानलाई मनन् गर्दै भविष्य बनाउने बेला हो। तसर्थ सम्झिनु पर्ने कुरा बिर्सियौं भने वा मनन् गर्नु पर्ने विषयमा चुक्यौं भने वा भोलिको आवश्यकता सोचेनौं भने गैरजिम्मेवारीको अर्को नमुना बन्न सक्छौं । यसका धेरै पाटाहरुमध्ये भौतिक संरचना पनि हुन्। त्यसैले कतिपय हाम्रा ध्वस्त पारिएका संरचनालाई हाम्रा ऐतिहासिक सम्पदा भनेर सम्झिनु पर्ने छ भने कति संरचनाका पुनर्निमाण गर्दा भविष्यका सम्पदा हुने उद्देश्यले बनाउनु पर्ने छ। अनि त्यसो गर्दा आज हामी के कस्तो परिस्थितिबाट किन गुज्रियौं भन्ने हाम्रो सम्झना पनि ति पुनर्निर्मित वा नवनिर्मित संरचनामा कुँदिनु जरुरी छ।
त्यो भनेको के हो?
यो हप्ताको घटनाक्रममा जे जति कारणले र जो कोहिले गरेको भए पनि हामीले कल्पना नगरेको विध्वंश भयो। शताब्दी पुराना देखि भर्खरै बनेका, बनेकै बेलादेखि अहिलेसम्मै एउटा निश्चित प्रयोजनमा प्रयोग भैआयेका, शुरुमा एउटा उद्देश्यले बनेर पछि अर्कै उद्देश्यमा प्रयोग भएका, व्यक्तिगत वा सार्वजनिक, सरकारी वा व्यापारी, धेरै खालका भौतिक संरचना धरासायी भए। त्यो देखेर कोहि हाँसे होला, रमाए होला, धेरै चाहिं दुखी भए कि, डराए कि? अब यी भग्नावशेष लाइ हेरिरहँदा केहि सम्झनाहरु आउलान्, केहि कथाहरु भनिएलान् - राम्रा नराम्रा सबै खालका, केहि कथा संरचनाकै होलान्, केहि मान्छेका। केहि कथा संरचनाका मालिकका होलान्, केहि ति बनाउने श्रमिकका, तिनका सीपका, तिनमा प्रयोग भएका मालसामानका, तिनका प्रयोगकर्ताका, तिनमा भएका घटनाक्रमका अथवा तिनमा हुनुपर्ने तर नभएका जिम्मेवारीहरुका आदि आदि। कतिलाई त भग्नावशेष देख्दै केहि कुरामा अझै रिस उठिनैराखेको होला, कतिलाई भाग्नावशेषले ग्लानि पनि गराउँदो हो। अनि कतिपय संरचना त आफैंमा केहि कुराका मानक होलान् - कोहि अमुक कालखण्डका, कोहि रचनात्मक नमुनाका, कोहि उबेलाका नौलो प्रयोगका हिसाबमा, कोहि व्यक्तिगत हुँदा हुँदै पनि सामुहिक महत्वका, कोहि सामुहिक हुँदाहुँदै पनि स्वार्थकै जकदले बाँधिएका, कोहि गौरवशाली इतिहासका साक्षी अनि कोहि निकम्मा वर्तमानका मुकदर्शक भित्ताहरु। तर जे भए पनि ति सबैले समग्रमा यी यावत् सम्झनाका अनि इतिहासका कयौं सामग्री समेटेका थिए, छन् र केहि नभए पनि हामीलाई ति इतिहास सम्झाइरहेका छन्। पाठ सम्झाउने उद्धेश्यले भएपनि नयाँ पाठ पढाउने ध्येयले पनि वा अझ राम्रो गरौँ न भन्ने भावले पनि यी भग्नावशेषलाइ कसरि व्यवस्थापन गर्ने र तिनका भौतिक वा दार्शनिक वा ऐतिहासिक पक्षलाई नगुमाउने भन्ने सोचले म केहि विचार गर्न खोज्दै छु।
त्यसैले मलाइ लाग्छ, भग्नावशेषबाट बौरिंदा हामी सु-सुचित, संगठित र सक्षम भएर उठ्नु छ, त्यसको लागि कम्तिमा निम्न लिखित कुराहरुमा ध्यान दिन सकिन्छ जस्तो लाग्छ।
१. सर्वप्रथम त भौतिक संरचनालाइ हेर्ने हाम्रो दृष्टिकोणको दायरा फराकिलो बनाउनु जरुरी छ। भौतिक संरचनाहरु सार्वजनिक कला, सामाजिक परिचायक र दैनिक आवश्यकताका आधार हुन्, यिनलाई समग्रमा नबुझ्दा हामीले विगतमा गल्ती पनि गरेका छौं अनि अवसर पनि गुमाएका छौं। आजको विषम परिस्थितिबाट अघि बढ्ने प्रण गरिरहँदा एक पटक अवसर आएको छ, हाम्रा भौतिक वातावरणलाइ वातावरणीय, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा सबल बनाउनु जरुरी छ।
२. माथि कल्पना गरिए अनुसारको बहुआयामिक भौतिक वातावरण शृजना गर्नको लागि हामीले आफु संग भएका संरचना, सरसामग्री, सीप र सन्दर्भलाई आधार मान्नु पर्ने हुन्छ। यसमा हाम्रा ऐतिहासिक मानक, परम्परागत सीप, स्थानीय श्रोत, नयाँ प्रविधि र वर्तमानका आकांक्षाहरुलाई समेट्ने प्रयास गर्ने रचनात्मक खाका अनुसारले भौतिक संरचना शृजना गर्ने उद्देश्य हुनु पर्छ।
३. तसर्थ भौतिक वातावरण र संरचना निर्माणसंग सम्बन्धित पेशाकर्मी, संस्था, विद्यार्थी र सरोकारवाला जनसमुदायको हातेमालो जरुरि छ। जस्तो कि - सोसाईटी अफ नेपाली आर्किटेक्ट्स (SONA), नेपाल इन्जिनियर्स एसोसियसन (NEA), एवं आर्किटेक्चर र सिविल इञ्जिनियरिङ्ग पढाई हुने शैक्षिक संस्था लगायत इकोमोस नेपाल (ICOMOS नेपाल), नेपाल सम्पदा समाज इत्यादिको सहभागितामा द्रुत सर्वेक्षण गरि तोडफोड र आगजनी भएका भौतिक संरचनाको बस्तुस्थितिको दस्तावेजीकरण गर्ने , यसमा विद्यार्थी भाइ बहिनिहरुलाई उनीहरुको सिकाई प्रक्रियाकै रुपमा प्रयोग गर्दा जनशक्ति र सान्धर्भिक सिकाइ दुवै पक्षमा फाइदा हुन्छ। यसको कार्यविधि र सूचना संकलनको खाका प्राध्यापनमा लागेका साथीहरुको समुहले गर्न सकिन्छ।
४. यो प्रक्रियाको अर्थशास्त्रीय पक्ष व्यवहारिक र उत्पादनमुखी हुन पनि उत्तिकै जरुरी छ, त्यसैले सुशासन र पारदर्शिताको यो लडाईंको क्रममै यस्ता पक्षहरु समेटेर नयाँ पेशागत प्रक्रिया र आदर्श स्थापित गर्न सकिन्छ कि भन्ने मेरो मान्यता हो। माथिको टोलीसंगै विज्ञ पेशाकर्मी साथीहरुको समुहहरुले हरेक संरचनाको भौतिक क्षतिको लागत अनुमान गरेर सरकार समक्ष आवश्यक राहतको लागि सिफारिश गर्न जरुरी छ, बिशेष गरेर निजि र ब्यापारिक संरचनाको हकमा यो झनै महत्वपुर्ण मुद्दा हो, सरकारले यसमा साझेदारी गरिदिनु पर्छ।
५. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नागरिक समुहहरुले देश भित्र र बाहिर सामाजिक संजाल बनाएर crowd funding को माध्यमबाट सरकारको बिशेष पुनर्निर्माण कोषमा सहयोग पुर्याउने अभियान सुरु गर्न राम्रो होला । यस्ता आर्थिक सहयोगको औचित्य स्थानीय रोजगारी र सीप प्रवर्धनको उद्देश्यले गर्नु पर्छ, केवल रकमी आर्थिक सहयोग मात्र दिने प्रक्रियाले त्यस्ता सहयोगको दीर्घकालीन औचित्य नहुन सक्छ।
६. यी माथिका काम भएर पुनर्निर्माणको काम शुरु हुन समय लाग्ने भएकाले एउटा अस्थायी संरचना को अवधारणा बनाई काम गर्न त्यस सम्बन्धि दक्षता र जनशक्ति भएकाहरुलाई प्रयोग गर्ने। यहाँ नेर बिदेशीको मुख ताकेर अनेक थरिका टेन्ट र पाता भित्र्याउनु भन्दा यो अवसरमा हाम्रो आन्तरिक श्रोत र दक्षतालाई प्रोत्साहन गर्ने नीति लिंदै बाँसको संरचनामा आधारित, सुकुल, गुन्द्री, गलैंचा, मान्द्रो इत्यादि रैथाने सामग्री वा हालसालै सुरु भएका विभिन्न खालका panel system का निर्माण सामग्री (तर स्वदेशी) र अन्य विभिन्न पुनर्प्रयोगमा आउन सक्ने सामग्री र केहि स्वदेशमै उत्पादन हुने भवन निर्माणका सामग्री प्रयोग गर्दै र नेपाली सेना, UN Habitat, Volunteer Tourism एवं हाम्रै विद्यार्थी स्वयंसेवक (कक्षागत अभ्यासकै हिसाबले)हरुलाई सहभागी गराएर शिप निर्माण, अनुशन्धान र नवप्रवर्तन को दिशामा सानै पाइलाहरु चाल्न सकिए दुरगामी परिणाम राम्रै हुन्छ जस्तो लाग्छ।
७. अस्थायी पुनर्निर्माणको काम भएर सकेसम्म चांडो दैनिक कार्यहरु सुचारु बनाउने अभियान युवा जनशक्तिको उत्साह पुर्वक सहभागिता र चुस्त व्यवस्थापन संग स्थानीय सिकर्मी र कालिगढ़को सीप संयोजन गरेर गर्न सकिएला । यस्ता रचनात्मक काममा युवा संजालहरु जोड्न सकिन्छ र यस्ता अनुभव र योगदानलाई हाम्रा विश्वविद्यालयहरुले उचित प्राज्ञिक महत्व दिनसके हाम्रो शिक्षाको शृजनशील अवधारणा विकाश हुन्थ्यो होला।
८. स्थायी संरचना पुनर्निमाण काममा अलिकति सोचेर अघि बढ्नु पर्ने आवश्यकता देख्छु, जसमा मेरो विचारमा निम्न बुंदाहरुमा ध्यान पुर्याए नयाँ नेपालको नयाँ संरचना राष्ट्रिय गौरव बन्न सक्लान् ।
८. १. माथिका बुंदा १ र २ को काम गर्दा आंकलन भएका विवरण अनुसार कुनै संरचनाका विशेष राष्ट्रिय, स्थानीय, ऐतिहासिक, सांस्कृतिक वा अरु कुनै महत्व र तत्व भए ति कुरालाई मध्य नजर राख्दै ति महत्वपुर्ण वा तत्वपूर्ण पक्षहरुको संरक्षण र पृष्ठपोषण गर्दै नया डिजाइन तयार गर्ने, यसो गर्दा ठाउँ परिस्थिति र सरोकारवालाको अबको आवश्यकता अनुसार थपघट गर्न रचनात्मक प्रयास गर्ने। यदि संरक्षण गर्न सम्भव र उचित हुने भएमा आवश्यक प्रयोग र सुरक्षामा कमी हुन नदिने हिसाब लेसंरक्षण कै योजना गर्न राम्रो होला ।
८.२. अघिल्लो बुंदा अनुसार जे गरे पनि त्यो संरचनाले त्यस भित्र र बाहिर हरियाली र शहरको सुन्दरता र शौम्यतामा योगदान गर्ने कुरामा ध्यान दिने। यदि पहिलेको संरचनाले यस्तो पक्षमा खलल पुर्याएको ठहर भएमा त्यो उतिखेर महत्वपुर्ण नै ठानिएको भएतापनि नयाँ संरचनामा त्यस्ता गल्ती नदोहोर्याउने प्रक्रिया सोच्न सकिएला ।
८.३. माथिका बुंदाहरुमा सजिलै निष्कर्षमा पुग्न नसकिने भएमा विज्ञ समुहको सल्लाह र आवश्यकता हेरी सार्वजनिक राय लिन पछि नपर्ने, र यी सबै सरसल्लाहका चरणहरु दस्तावेजीकरण गरिराख्ने। महत्वपुर्ण स्थान र संरचनाको हकमा डिजाइनको अन्तिम प्रारूप तयार गर्दा नै बिज्ञ र सार्वजनिक सुनुवाईको प्रक्रिया गरेर राय सुझाव लिने / चलन चल्ती भन्दा बाहिरको कुरा भए पनि यो प्रक्रिया एकदम जरुरी भैसक्यो, सार्वजनिक सम्पत्तिका मानक संरचना खडा गर्दा सार्वजनिक सुनुवाई र पारदर्शिता अवलम्वन गर्ने प्रक्रिया बसाल्नै पर्छ।
८.४. दुर्भाग्यपुर्ण आइलागे पनि यो क्षणलाई राम्रो काम गर्ने अवसर मान्न खोज्ने हो भने “हतपत को काम लतपत” भन्दा “सुरैले बनाउँछु, राम्रो बनाउँछु” भन्ने ठिक होला। तर यसो भन्दा फेरी ढिलासुस्तीको बहाना र संस्कार नछिरोस भन्नेमा सावधान हुनु जरुरि छ, त्यसैले एउटा उपभोक्ता समिति जस्तै सार्वजनिक नियमनको प्रक्रिया सोच्न सकिएला ।
८.५. जुनसुकै प्रकारले पुनर्निर्माण गरिएपनि २०८२ सालको यो घटना भन्दा अघि, घटना भएको बेला र ति भन्दा अघिका इतिहास सम्झाउने तस्विरहरु भए ति समेत संलग्न गर्दै हरेक संरचनाको कथा सम्वन्धित ठाउँमै समेटेर भोलिका पुस्तालाई पनि जानकारी पुगोस भन्ने हेतुले कुनै ठाउँ वा भित्ता वा डिजिटल प्रविधिले इतिहास बोध गराउने पक्षलाई पनि समेट्ने योजना गर्न राम्रो होला ।
८.६. ति इतिहास समेट्ने क्रममा हालैको घटनामा सहादत प्राप्त गर्ने युवाहरुको सम्झना गरिनु पनि जरुरी छ, सायद यो संरचना पुननिर्माणकै अभियान भित्र पारेर नवयुवा आन्दोलनको कतै एउटा छुट्टै स्मारक बनाउन मिल्छ होला ।
८.७. सार्वजनिक महत्व वा सरोकारका संरचना बनाउँदा हाम्रो आफ्नो पन पनि झल्किने उद्देश्यले विध्यमान संस्थाहरु, जस्तै CTEVT , Rabindra Puri Foundation, Abari जस्ता हाम्रै संस्थाहरुका जनशक्ति र प्रविधिलाई सक्दो प्रयोग गर्दा मौलिकताको आभास दिन सकिन्छ। सबै संरचना उस्तै मौलिकताको सिद्धान्तमा हुनु हुँदैन , कुनै परम्परागत नेवारी शैली झल्किने होला, कुनै माटो र बाँसको संयोजनले बनेको नयाँ शैली होला त कुनै गगन चुम्बी भवन नै पनि हुन सक्ला नितान्त नयाँ कल्पना मा / जे गरे पनि खालि देखासिकी मात्रै नगरेर हाम्रै सोच र सरसल्लाहमा पुनर्निर्माण गरौँ भन्ने मेरो आशय हो।
छलफलको लागि आफ्ना धारणा प्रस्तुत गर्ने जमर्को गरेको हो, टिप्पणी, सुझाव र आवश्यक छलफलको स्वागत गर्दछु। साथै पेशागत साथीहरु र नवयुवा पुस्ता - विशेषगरी विद्यार्थीहरुलाई समय र सन्दर्भले दिएका सिकाई र सेवाका अवसर पहिचान गर्न र सक्रिय रहन अनुरोध गर्दछु।
शुक्रबार, २७ भाद्र २०८२
Friday, September 12, 2025
काठमाडौँ विश्वविद्यालय, धुलिखेल
neelkamal.chapagain@ku.edu.np