बेइजिंग (चीन)मा अरनिकोको श्वेत चैत्य

नील कमल चापागाईं

आज (पुष २३) अरनिको स्मृति दिवस भनेर पात्रोमा लेखेको देखें, यो कुरा त कहिले याद गरिएको थिएन, खासै चर्चामा आएको पनि सुनिंदैन। तर अरनिकोलाई सम्झिने एक दिन तोकिएकै रहेछ भने त यहि अवसरमा मैले हालै भ्रमण गरेको श्वेत चैत्यको बारेमा दुईचार कुरा राख्न मन लाग्यो। त्यसैले दुइ महिना अगाडिको भ्रमणको आधारमा गत महिना आर्किटेक्चरका विद्यार्थीहरुलाई दिएको एउटा सानो परिचयात्मक प्रस्तुतिलाई यहाँ लेख्ने जमर्को गरेको छु। ढिलै भए पनि अरनिकोको बारेमा अलि चर्चा परिचर्चा गर्नु पर्यो भन्ने लहड लागेकोले यी केहि शब्द र हालैको भ्रमणमा खिचिएका तस्वीरहरु मार्फत अरनिकोको व्यक्तित्व र कृतित्वको बारेमा अलि छलफल होवोस भन्ने आशा र अपिल गर्दछु।

कलाकार अरनिकोको बारेमा खासै पढ्ने पढाइने गरिंदैन अझै पनि। विद्यालय पढ्दा नाम सम्म सुनेको, पुल्चोक क्याम्पसमा आर्किटेक्चर पढ्न थालेपछि अरनिकोलाई हाम्रा पुर्खा आर्किटेक्ट भनेर भन्ने गरेको सुरमा सत्यमोहन जोशीले लेख्नु भएको कलाकार अरनिको भन्ने पुस्तक किनेर पढिएको थियो। त्यसैबाट अरनिकोको बारेमा चीनमा चाहिं केहि लेखाजोखा छ भन्ने आभास भएको थियो। ४-५ पटक चीन भ्रमण गरिसक्दा पनि अरनिकोको बारेमा खासै खोजीनिती गर्ने मौका मिलेको थिएन। यो बर्ष भने तिहार लगत्तैको एक प्राज्ञिक सम्मेलनमा सांस्कृतिक सम्पदा सम्बन्धी एक प्रस्तुति दिने निम्तो स्वीकार गर्दा १-२ दिन थप भ्रमण गर्ने सुर चल्यो र अरनिकोको कृतिको दर्शन गर्ने कार्यक्रम बन्यो। नक्शामा ठ्याक्कै यहि हो भन्ने पक्का नभए पनि अलि अलि खोजीनिती गरेको भरमा अनुशीलले स्थानीय रेलको यात्रा तय गर्यो र पछि पछि लागेर हामी अरनिकोको श्वेत चैत्य भएको ठाउँमा पुग्यौं। त्यो ठाउँ Miaoying Temple नामले चिनिने रहेछ। अरनिकोको श्वेत चैत्यको वृतान्त शब्दले भन्दा तस्वीरले नै बढी प्रतक्ष र प्रभावकारी होला।

सबवे स्टेशनबाट नक्शा पहिल्याउँदै निस्कँदा श्वेत चैत्यको पहिले दर्शन यसरी पाइयो।
एक ठाउँमा सडकको किनारका भित्ताहरुमा हालसालैका भित्ते आकृतिमा पनि श्वेत चैत्य देखिन्थ्यो।
स्थानीय दैनिक जनजीवनका यी भित्तेआकृतिमा श्वेत चैत्यले एउटा पृष्ठभूमि दिएको प्रस्ट थियो।
अलिक नजिक पुग्दै जाँदा गल्लीको माहौल अलि पर्यटकीय हुन थाल्यो, तै पनि प्रवेशद्वार खोज्न हामीले अलिकति घुम्न पर्ने देखियो।
Chaitya on a sign.
वरिपरिका घरका भित्तामा लेखिएका संकेत पाटीहरुमा पनि श्वेत चैत्यको आकृति एउटा पहिचानको रुपमा रहेको प्रष्ट देखिन्थ्यो।
The chaitya on street flower pots.
यी शहर सौन्दर्यका सानातिना अङ्गहरुले पनि श्वेत चैत्यका चिन्ह सजाएका थिए।
Sign with the chaitya on the compound wall.
बाल भित्तेचित्र जस्ता देखिने यी पोस्टरले पनि श्वेत चैत्यलाई चित्रित गरेका रहेछन् तर यहाँ चाहिं श्वेत चैत्यमा हाँसोको संकेत थपिएको छ।
Painting of the chaitya.
यी अर्को भित्तेचित्रले श्वेत चैत्यलाई प्रविधि र शृजनशिलता संग जोड्न खोजेको भान हुन्थ्यो।
A wire replica of the chaitya.
यो चाहिं शायद कुनै शृजनशील स्टुडियोको प्रयोजनको लागि बनाइएको तारको प्रतिमूर्ति हो, जसमा आधारित भएर अन्य श्रव्यदृश्य सामग्री उत्पादन गर्न सकिन्छ।
A sewage lid depecting the chaitya.
सडक भुइँमा रहेका ढलका बिर्काहरुमा पनि श्वेत चैत्यआकृति ले नगरको सम्बन्धित निकायको पहिचान बोकेको देखियो।
A drainage lid depicting the chaitya.
त्यो ढलको बिर्कोको डिजाइन मात्रै नभएर सडकमा गरिएका ढुंगा छाप्ने क्रमको डिजाइनमा पनि श्वेत चैत्य प्रयोग भएको पाइयो।
The two lids depicting the chaitya.
सडक खण्डको दृश्य जसमा माथि वर्णन गरिएका दुइ कुराहरु एकै पल्ट देख्न सकिन्छ।
A map of the area highlighting a model of the chaitya.
वरिपरिको माहौलमा यो भित्ते नक्शा चाहिं उत्कृष्ट लाग्यो, यसले श्वेत चैत्य परिसरलाइ समग्रमा प्रस्तुत गरेको छ, पर्यटकहरुले चासो लिएर हेरेको देखियो।
The entrance gate to the chaitya compound.
अब चाहिं बल्ल हामी प्रवेश द्वारमा आइपुग्यौं।
The tip of the chaitya peeking out behind a gate.
प्रवेश द्वारमा टिकट लिएर भित्र छिर्न लाग्दाको पहिलो दृश्य। प्रष्ट छ, १-२ तहका संरचना पार गरेर मात्र यो श्वेत चैत्यमा पुगिने रहेछ।
The chaitya in the background of traditional roof designs
चिनियाँ वास्तुकलामा बनेका परिसरका अन्य भवनहरु हेर्दै अघि बढ्दा श्वेत चैत्यको दर्शन चाहिं भै नै रहन्छ हरेक कुना बाट।
A statue of Araniko
यहाँनेर पुग्दा चाहिं पाइला पनि टक्क अडिने, छाती पनि ढक्क फुल्ने , अरनिको संग भेट भए झैं लाग्ने।
Plaque with information about 'Arniko', with text in Chinese, English, and Nepali

यसमा अरनिकोको यो पूर्ण कदको शालिक संगै रहेको जानकारी यस प्रकारको छ:

“सुप्रसिद्ध नेपाली कलाकार अरनिको सन् १२६० मा नेपालबाट चीनमा आउनु भएको थियो। उहाँले तत्कालीन चीनको य्वीयान राजवंशको सरकारी पदमा रही चालीस बर्षभन्दा बढी नेपाली र चीनियाँ संस्कृतिको आदानप्रदान एवं प्रचारप्रसारका लागि काम गर्नु भएको थियो। उहाँले नेपाली कलालाई चीनमा ल्याउनु भयो र पछिका समयमा समेत महत्वपूर्ण प्रभाव छोड्न सफल ‘सुखावातीदेवास्वरूप’ कलाशैलीको प्रवर्तन गर्नु भयो। उहाँले आफ्नो जीवनकालमा तीनवटा विशाल चैत्य नौवटा बौद्ध विहार र अनगिन्ती चित्र तथा मुर्तिहरुको निर्माण गर्नु भएको थियो। उहाँका कलात्मक उपलब्धिहरु चीन नेपाल दुइ देश बीच सौहार्द्रपूर्ण आदानप्रदानको इतिहासका सबैभन्दा सुन्दर अध्याय हुन्। श्वेत चैत्य अरनिकोको सर्वोत्कृष्ट कलाकृति मात्र होइन, यो मातृभूमिको एकीकरण जातीय तथा चीन नेपाल मैत्रीको प्रतीक पनि हो। सातसय वर्षदेखि अरनिको र श्वेत चैत्य य्वीयान राजवंशको राजधानी तातूको स्मारकको रुपमा अहिलेसम्म रहँदै आएको छ।
चीन नेपालबीचको साँस्कृतिक दूत यस महान कलाकार अरनिकोको सम्झनामा यी दुई देशका जनता बीचका मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तरता दिने उद्धेश्यले सन् २००१ सालमा अरनिको समाज (नेपाल)व्दारा पेइचिङ्ग श्वेत चैत्य व्यवस्थापन कार्यालयलाई अरनिकोको तामाको मूर्ति उपहार स्वरुप प्रदान गरिएको हो।“

हुन त अरनिको समाज नेपालले स्थापना गरिदिएको मुर्ति हो, तर त्यसलाई ससम्मान सो स्थानमा प्रतिस्थापन मात्रै होइन, एउटा सम्पूर्ण संग्रहालय र आवश्यक संरक्षण गरि एउटा पर्यटकीय तथा शैक्षिक केन्द्रको रुपमा व्यवस्थित गरिराख्नु बाट चीन सरकार र जनताले अरनिको प्रति दर्शाएको सम्मान वास्तवमै हाम्रो लागि गौरवको विषय हो।

Close up of the stained white Chaitya.
यो चैत्यको आकार र वरिपरिको स्थानाभावले भुँईंबाट भनेजस्तो तस्विर खिच्न चाहिं अलि मिलेन।
The Chaitya, cone-shaped, with a circular feature surrounding the area just before the top.
तैपनि अलिक वरपर बाट यतिसम्म चाहिं तस्विर उतार्न मिल्यो।
The chaitya, framed by trees and a traditional gate.
श्वेत चैत्यका विभिन्न पक्षबाट खिचिएका तस्विर , तर पुरै अटाउने गरेर को तस्विर चाहिं खासै खिच्ने नमिल्ने, यसको विशाल स्वरुप र वरिपरिको स्थान थोरै हुँदा।
An exhibition sign saying 'Sino-Nepal Friendship Across The Himalayas'.
घुम्दा घुम्दै हामी एउटा हिमालयपार नेपाल चीन मित्रताको बारेमा रहेको प्रदर्शनी कक्षमा पुग्यौं। यहाँ नेपाल चीन सम्बन्ध झल्काउने धेरै कुराहरुको बारेमा जानकारी थियो, तर ती पनि अरनिकोकै सेरोफेरो मा रहेको पाइयो।
A collage of images of Araniko and relevant documents, with information written in Chinese.
अरनिको र श्वेत चैत्यका बारेमा जानकारीहरु (तर यी सबै स्थानीय भाषामा मात्रै थिए)।
A postal stamp featuring the Chaitya and flags of Nepal and China.
अरनिकोको सम्झनामा प्रकाशित नेपाली हुलाक टिकटको प्रतिलिपिले पनि प्रदर्शनीमा स्थान पाएको देखियो।
Illustrations depicting the activites of Araniko in Tibet, with captions in Chinese.
यो चाहिं विशेष प्रदर्शनी रहेछ जसमा अरनिकोको बारेमा तयार पारिएको तीनवटा चित्रकथाका प्रकाशन रहेछन जसमा अरनिकोको प्रारम्भिक जीवनी र तिब्बतमा आइपुग्दाका कुरा देखि श्वेत चैत्य बनाउने चरणका, अनि त्यसपछि उनका प्रसिद्धि र अन्त्यमा उनको मरनोपरांत रहेका उनका ख्यातिको बारेमा सचित्र वर्णन गरिएका थिए।
Historical pictures of the Chaitya and surroundings, titled 'The White Dagoba as a shared cultural heritage'.
त्यसपछिका प्रस्तुतिहरु यहि श्वेत चैत्यकै सेरोफेरोमा रहेको थिए।
Pictures of Nepali officials on a visit to the Chaitya.
नेपालबाट भ्रमणमा आउनुहुने विशिस्ट पाहुनाहरुले पनि यो स्थान भ्रमण गरेको तस्विरहरु र श्वेत चैत्यकै प्रतिमूर्ति उपहार दिएको जानकारी।

परिसरको अर्को पट्टि एउटा विशेष म्युजियम पनि रहेछ। यहाँ प्रवेश गर्ने बित्तिकै देखिने चार मुर्तिहरुमा देब्रेतिर शुरुमै अरनिकोको छ भने त्यसपछि क्रमश एक तिबेतन बुद्धिज्मका धर्म गुरु, सम्राट कुब्लाई खान र अर्का धर्म गुरु थिए। यो म्युजियममा श्वेत चैत्य सम्बन्धि तस्वीर र ससाना मोडलहरु लगायत ठुलो भित्तामा एनिमेसन गरिएको विशेष सामग्री र केहि पुरातात्विक महत्वका अभिलेखहरु पनि प्रदर्शित छन। प्रायजसो सबै नै चिनियाँ भाषामा लेखिएको र सचित्र वर्णनबाट भएकोले स्कुले नानीहरु र सर्वसाधारणले पनि अरनिको को बारेमा राम्रै सँग थाहा पाउन् भन्ने उद्धेश्य रहेको लख काट्न सकिन्छ । यो परिसर घुम्दा र विशेष गरि यी प्रदर्शनीहरु हेर्दा नेपाली हुनुको गर्व महसुस भयो।

Statues of Araniko, Phakpa, Kublai Khan and another person.
बायाँबाट अरनिको, फाक्पा - तिबेतन बुद्धिज्मका एक धर्म गुरु, सम्राट कुब्लाई खान र अर्का धर्म गुरु।
म्युजियममा रहेका अरनिको र श्वेत चैत्यका बारेमा जानकारीमुलक प्रदर्शनीहरु।
एउटा लामो भित्तामा डिजिटल प्रविधि र एनिमेसन प्रयोग गरेर एउटा श्रव्यदृश्य सामग्री प्रस्तृत थियो, जुन भाषाको कारणले प्रष्टै त बुझिन तर चित्र र एनिमेसन हेर्दा श्वेत चैत्यको सन्दर्भ बुझाउन खोजेको जस्तो लाग्थ्यो, जसमा यो चैत्यको एइतिहासिक र धार्मिक रुपमा महत्वपूर्ण स्थान रहेको भान हुन्थ्यो, बिस्तारै बसेका बस्ती, अनि त्यहाँ स्तुपा बन्ने अनि बादल र आकाशीय स्वरुपमा स्वर्गको झल्को दिन खोजेको जस्तो बुझें मैले चाहिं।
The Chaitya displayed by a hologram
यो अन्तिम प्रस्तुतिमा चाहिं एउटा होलोग्राम प्रविधिबाट साधारण हिसाबले श्वेत चैत्यको आकार प्रकार संरचनालाई क्रमश: निर्माण भएको एनिमेसनबाट बुझाउन खोजिएको छ।
The book 'Kalakar Arniko - The Well-Known Nepalese Architect'
सत्यमोहन जोशीले लेख्नु भएको यो पुस्तक, जुन मैले लगभग पच्चीस बर्ष अघि किनेको थिएँ, त्यो पढ्न र अलि सान्दर्भिक रुपमा बुझ्न खोज्दै छु। त्यसैबाट टिपोट गरेर अरनिको को बारेमा संक्षिप्त जानकारी तल प्रस्तुत गर्दछु।

सत्यमोहन जोशी (वि.स. २०४४)का अनुसार सन् तेर्हौं शताब्दीमा मंगोल सम्राट चंगेज खानका नाति कुब्लाई खानले निमन्त्रण गरे अनुसार काठमाडौँबाट गएका ८० जना कालिगढ़को नेतृत्व गर्दै अरनिकोले तिब्बत लगायत अहिलेको बेइजिङ्गसम्म विभिन्न ठाउँमा चैत्य विहार र अन्य कलाकृतिहरु बनाए। सम्राटले पछि मन्त्री सरहकै मान र सुबिधा तथा कला सम्बन्धी जिम्मेवारीहरु दिएर अरनिको लाइ उतै व्यस्त र अभ्यस्त बनाए। ख्याति कमाउँदै र आफ्नो कलाकौशलको अभुतपुर्व छाप छोडी अरनिको उतै अस्ताए। मरणोपरान्त पनि उनले सम्मान पाए, उनको कृतित्वको अभिलेखीकरण शिलालेख र स्मारकहरुमा भए, तर श्वेत चैत्य उनको सबै भन्दा प्रसिद्ध कालजयी कृति भनेर चिनियो।

समग्रमा यो छोटो भ्रमणले मैले पढेको तर भर्खरै मात्र देख्न पाएको श्वेत चैत्यको बारेमा यहाँहरु सबैलाई अलिकति चासो बढोस भन्ने उद्देश्यले यो यात्रा वृतान्त प्रस्तुत गरें। आगामी दिनमा केहि अरु अध्ययन अनुसन्धान गर्ने जमर्को गरे फेरी प्रस्तुत गर्नेछु।

अरनिको स्मृति दिवस २०८२ (पुष २३) 7 January 2025
बेइजिङ्गस्थित श्वेत चैत्यको भ्रमण मिति: २९ अक्टोबर २०२५ / १२ कार्तिक २०८२

Written by नील कमल चापागाईं | Part of Neel Kamal Chapagain's Thoughts and Reflections